न्युजिल्याण्डमा मुटुरोग विशेषज्ञको संख्या जोखिमपूर्ण रूपमा घट्दै गएको एक नयाँ अध्ययनले देखाएको छ। अध्ययन अनुसार न्यूजिल्याण्डका आधाभन्दा बढी मुटुरोग विशेषज्ञ ५० वर्षभन्दा माथिका छन्, र करिब पाँचमध्ये एकजना ६० वर्ष नाघिसकेका छन्—जसले निकट भविष्यमै व्यापक जनशक्ति अभाव बढ्ने र आगामी वर्षहरूमा मुटुरोग सेवामा ठूलो चुनौती देखिने चेतावनी दिएको छ।

शुक्रबार प्रकाशित न्यूजिल्याण्ड मेडिकल जर्नलका अनुसार अष्ट्रेलिया–न्यूजिल्याण्ड कार्डियाक सोसाइटीले सार्वजनिक अस्पतालमा कार्यरत सदस्यहरूलाई पठाएको सर्वेक्षणले देशको मुटुरोग सेवा ‘गम्भीर चुनौती’ तर्फ धकेलिँदै गएको देखाउँछ। न्यूजिल्याण्डमा कार्यरत १५४ मुटुरोग विशेषज्ञमध्ये आधाभन्दा बढी ५० वर्ष नाघिसकेका छन्। ३५ प्रतिशत ५५ वर्षभन्दा माथिका छन्, र १८ प्रतिशत ६० वर्ष पार गरिसकेका छन्। यसले भविष्यमा ठूलो संख्यामा विशेषज्ञ सेवा छोड्ने सम्भावना देखाउँछ।

अध्ययन अनुसार पछिल्ला वर्षहरूमा मुटुरोग विशेषज्ञमाथिको कार्यभार अत्यधिक बढेको छ—बढ्दो रिफरल, गम्भीर बिरामी, तर स्रोत भने लगातार घट्दो।

मिडलमोर अस्पतालमा विगत २५ वर्षदेखि कार्यरत डा. सेल्विन वङ्गका अनुसार, ‘अस्पतालभरि नै स्रोत अभाव बढेको छ। कम जनशक्तिमा धेरै काम निकालिँदै जानु, र विश्रामको समय घट्दै जानु—अब सामान्य जस्तै भइसकेको छ।’

सर्वेक्षणले देखाएको एउटा प्रमुख तथ्य भनेको कार्डियोलोजीका १४ प्रतिशत पद खाली रहेको हो। तर यो ‘फन्डेड’ पद मात्र भएकाले वास्तविक आवश्यकता अझ ठूलो रहेको अध्ययनले बताउँछ। हाल एक मुटुरोग विशेषज्ञले औसत ३५ हजार जनसंख्या सम्हाल्नु परेको छ। क्यानडा र अष्ट्रेलियामा यो अनुपात २५ हजारमा एक, र सिड्नीमा १५ हजारमा एक विशेषज्ञको व्यवस्था छ।

डा. वङ्ग भन्छन्, ‘त्यो स्तरमा पुग्न हामीसँग अहिलेभन्दा ६० जना थप मुटुरोग विशेषज्ञ आवश्यक छन्—अर्थात् करिब ३८ प्रतिशत वृद्धि।’

त्यसमाथि पनि विशेषज्ञ देशभर समानरूपमा वितरण भएका छैनन्। माओरी र पसिफिक समुदाय बढी रहेका पाँच जिल्लामा त एक विशेषज्ञले ३८ हजारदेखि ६१ हजार जनसंख्या सम्हाल्नुपरेको पाइएको छ—यही समुदायमा मुटुरोगको दर सबैभन्दा उच्च छ।

अर्को अध्ययनले ५० वर्षयतादेखि घट्दै आएको ‘हार्ट अट्याक’ दर अब स्थिर बनेको र माओरी तथा पसिफिक समुदायमा असमानता झनै बढेको देखाएको छ।

अनुसार डा. वङ्गका अनुसार अब कार्डियोलोजी सेवा पाउनको प्रतीक्षा समय पनि बढ्दो छ। ‘विशेषज्ञ भेटघाट, कार्डियाक अल्ट्रासाउन्ड, क्याथेटराइजेशन—सबैमा ढिलाइ बढ़िरहेको छ,’ उनी भन्छन्।

कोभिड–१९ पछि कार्यशैलीमा आएको परिवर्तनले पनि जनशक्ति अभावलाई तीव्र बनाएको छ। ‘सबैजना सधैँ उपस्थित हुँदैनन्—बिदा, बिरामी, सम्मेलनका कारण प्रायः १६–१८ जनामध्ये दुईजना अनुपस्थित हुनेगर्छन्,’ डा. वङ्गले बताए।

रेडियो एनजेडमा प्रकाशित समाचार अध्ययनले देखाएको छ कि करिब ७३ प्रतिशत विशेषज्ञ देशमै प्रशिक्षित भए पनि विदेशी विशेषज्ञ वा विदेशमा रहेका न्यूजिल्याण्डका चिकित्सकलाई ल्याउन आवश्यक स्रोत र सुविधा आकर्षक नहुँदा समस्या झनै बढेको छ।

डा. वङ्ग थप्छन्, ‘थप लचकता र राम्रो स्रोत उपलब्ध भएमा विदेशका विशेषज्ञलाई आकर्षित गर्न सकिन्छ। यसले अहिले प्रणालीमा रहेका वरिष्ठ विशेषज्ञलाई पनि टिकाइराख्न मद्दत गर्छ—किनकि लगातार ‘अन–कल’ बस्नु उनीहरूका लागि दिनदिनै कठिन बन्दै गएको छ।’