इरानले कुवेतमा रहेको अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै हवाई आक्रमण सुरु गरेको जनाएको छ । इजरायल र अमेरिकाले इरानमाथि हवाई कारबाही गरेपछि त्यसको प्रतिकारस्वरूप इरानले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी तथा इजरायली सैन्य अड्डाहरूमा आक्रमण विस्तार गरेको हो ।
कुवेतको रक्षा मन्त्रालयका अनुसार आक्रमणका क्रममा केही अमेरिकी लडाकु विमान दुर्घटनाग्रस्त भएका छन् । सबै पाइलट सुरक्षित रहेको र उपचारका लागि अस्पताल पठाइएको जनाइएको छ । हालसम्म ५५ जना घाइते र एक जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।
कुवेतमा ठूलो सङ्ख्यामा रहेका नेपाली समुदायमा पनि त्रास देखिएको छ । गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष दिलबहादुर पाख्रिनका अनुसार हालसम्म कुनै पनि नेपाली हताहत भएका छैनन् । “अहिलेसम्म स्थिति नियन्त्रणमै छ, तर ड्रोन र मिसाइल आक्रमण भइरहेका कारण सतर्कता आवश्यक छ,” उहाँले बताउनुभयो ।
कुवेतमा करिब एक लाख ७५ हजार नेपाली कार्यरत रहेका छन्, जसमा ठूलो सङ्ख्या महिला घरेलु कामदारको छ । आक्रमणपछि सरकारी कार्यालय र विद्यालय बाहेक अधिकांश क्षेत्र सामान्य रूपमा सञ्चालनमा रहे पनि मनोवैज्ञानिक त्रास भने बढेको छ ।
नेपाली दूतावासले हटलाइन सेवा सञ्चालनमा राखेको छ भने गैरआवासीय नेपाली संघले आधिकारिक सूचनामात्र अनुसरण गर्न आग्रह गरेको छ । स्थिति जटिल बनेमा उद्धारको सम्भावित तयारीबारे छलफल भइरहेको जनाइएको छ, तर क्षेत्रीय विमानस्थलहरू बन्द रहेकाले तत्काल उद्धार चुनौतीपूर्ण हुने देखिएको छ ।
हालका लागि कुवेतस्थित नेपालीहरूलाई सतर्क रहन, अनावश्यक हल्लामा नलाग्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।
