अमेरिकी विदेश मन्त्रालयले आजदेखि अर्थात् जनवरी २१ देखि लागू हुने गरी ग्रिनकार्ड प्राप्त गर्ने उद्देश्यले अमेरिका आउने नेपाली नागरिकका लागि आप्रवासी (इमिग्रेन्ट) भिसा प्रक्रियामा अस्थायी रोक लगाएको छ। यसअघि नै नेपालसहित ७५ वटा देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रियामा अस्थायी स्थगन गरिने जानकारी अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको थियो।
विदेश मन्त्रालयका अनुसार आफ्ना स्क्रिनिङ तथा जाँचसम्बन्धी मापदण्डहरूको पुनरावलोकन पूरा नहुँदासम्म कन्सुलर अधिकारीहरूलाई विद्यमान कानुनी अधिकार प्रयोग गर्दै भिसा अस्वीकार गर्न निर्देशन दिइएको छ। यो स्थगन अनिश्चितकालका लागि लागू हुने र पुनरावलोकन सम्पन्न भएपछि मात्र हटाइने जनाइएको छ। यस निर्णयबाट प्रभावित हुने देशहरूको सूचीमा नेपाल, सोमालिया, रुस, अफगानिस्तान, ब्राजिल, इरान, इराक, इजिप्ट, नाइजेरिया, थाइल्याण्ड, यमनलगायत दर्जनौं मुलुक रहेका छन्।
यति मात्र होइन, अमेरिकी विदेश मन्त्रालयले नेपाललाई भिजिटर भिसाका आवेदकहरूबाट धरौटी रकम लिनुपर्ने देशहरूको सूचीमा पनि समावेश गरेको छ। फेडरल रजिस्टर तथा विदेश मन्त्रालयले प्रकाशित सूचनाअनुसार अब नेपाली नागरिकले अमेरिकाको बी–१ (व्यवसायिक) र बी–२ (पर्यटक) भिजिटर भिसाका लागि आवेदन गर्दा ५ हजारदेखि १० हजार अमेरिकी डलरसम्म धरौटी बुझाउनुपर्ने व्यवस्था लागू हुनेछ।
यद्यपि यो व्यवस्था सबै आवेदकका लागि अनिवार्य भने होइन। कन्सुलर अधिकारीले भिसा अन्तर्वार्ताका क्रममा आवेदकको व्यक्तिगत अवस्था, जोखिम मूल्यांकन र स्वविवेकका आधारमा ५ हजार, १० हजार वा १५ हजार डलरसम्म धरौटी तोक्न सक्नेछन्। धेरै आवेदकले भने बिना धरौटी नै भिजिटर भिसा पाउने सम्भावना रहनेछ।
धरौटी रकम अमेरिकी ट्रेजरीद्वारा सञ्चालित आधिकारिक वेबसाइटमार्फत बुझाउनुपर्नेछ र सोही संस्थाको खातामा राखिनेछ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार धरौटीसम्बन्धी नियम केवल बी–१ र बी–२ भिजिटर भिसाका आवेदकहरूमा मात्र लागू हुन्छ। अन्य आप्रवासी वा गैर–आप्रवासी भिसाका आवेदकहरू योग्य ठहरिएमा बिना धरौटी नै भिसा पाउन सक्नेछन्।
विदेश मन्त्रालयका अनुसार उच्च भिसा ओभरस्टे दर, अपर्याप्त जाँच प्रक्रिया तथा जोखिम मूल्यांकनका आधारमा केही देशहरूलाई धरौटी सूचीमा राखिएको हो। आर्थिक वर्ष २०२४ को ओभरस्टे रिपोर्टअनुसार ३४ हजार ७० जना नेपाली भिजिटर भिसाधारकमध्ये १ हजार ६४ जनाले अमेरिका छाड्ने म्याद नाघेका थिए। तीमध्ये १७२ जनाले पछि अमेरिका छाडे पनि ८९२ जना अझै अमेरिकामै रहेका थिए।
सन् २०२४ मा नेपाली भिजिटरहरूको कुल ओभरस्टे दर ३.१२ प्रतिशत र अमेरिकाभित्र जारी ओभरस्टे दर २.६२ प्रतिशत रहेको थियो। त्यस्तै, नेपाली विद्यार्थीहरूको ओभरस्टे दर झन् उच्च देखिएको छ। उक्त वर्ष कुल १०.२५ प्रतिशत विद्यार्थी ओभरस्टेमा परेका थिए, जसमा अमेरिकाभित्र रहने दर ९.३६ प्रतिशत थियो।
