इरानको ड्रोन हमलामा परी संयुक्त अरब इमिरेट्स (यूएई) मा ज्यान गुमाउने नेपाली नागरिकको परिचय खुलेको छ। अबुधाबीस्थित नेपाली दूतावासले सोमबार मृतक गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको जानकारी सार्वजनिक गरेको हो।
दूतावासका अनुसार जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत श्रेष्ठको दुःखद निधन भएको हो। यस सम्बन्धमा यूएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको दूतावासले जनाएको छ।
दूतावासले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। साथै, मृतकको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको र त्यसका लागि सहजीकरण गरिने जनाएको छ।
यस्तै संवेदनशील अवस्थालाई मध्यनजर गर्दै दूतावासले अबुधाबी तथा यूएईमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा बस्न तथा स्थानीय प्रशासनले जारी गरेका सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ।
इरानमाथि अमेरिका र इजरायलले हमला गरेपछि इरानले प्रतिउत्तरस्वरूप आसपासका क्षेत्रहरूमा ड्रोन तथा क्षेप्यास्त्रमार्फत आक्रमण गरेको बताइएको छ। सोही क्रममा शनिबार अबुधाबी विमानस्थलमा भएको हमलामा तीन जनाको मृत्यु भएको थियो। उक्त घटनामा एक नेपाली घाइते भएका थिए र उपचारका क्रममा आइतबार उनको मृत्यु भएको दूतावासले पुष्टि गरेको थियो। सोमबार मृतकको पहिचान दिवस श्रेष्ठका रूपमा सार्वजनिक गरिएको हो।
