नेपालबाट छोरा भेट्न अस्ट्रेलियाको सिड्नी पुगेकी एक ५५ वर्षीया नेपाली महिलाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमै निधन भएको छ ।

काठमाडौंको सुकेधारा निवासी ठूली कान्छी तामाङ आफ्ना श्रीमान्सहित अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यअन्तर्गत वागा वागामा बस्दै आएका छोरा राजु तामाङलाई भेट्न शुक्रबार बिहान सिड्नी पुगेकी थिइन् ।

अस्ट्रेलियन समयअनुसार विमान अवतरण भएलगत्तै विमानस्थलमा उनी अचानक अचेत भएर ढलेकी थिइन् । घटनापछि विमानस्थलमा रहेको मेडिकल टोलीले तत्कालै सीपीआरसहित प्राथमिक उपचार गर्दै बचाउने प्रयास गरे पनि उनको ज्यान जोगाउन नसकिएको बताइएको छ । घटनापछि स्थानीय प्रहरीले वागा वागामा रहेका छोरा राजु तामाङलाई जानकारी गराएको थियो ।

मृतकको शव नेपाल पठाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियालगायत विभिन्न संघसंस्थाको सहयोगमा ‘गो फन्ड मी’ अभियानमार्फत रकम संकलन गरिएको छ । शव नेपाल पठाउन १५ हजार अस्ट्रेलियन डलर सहयोगको आह्वान गरिएकोमा हालसम्म ४४४ जनाबाट १६ हजार २५१ अस्ट्रेलियन डलर संकलन भइसकेको जनाइएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव नेपाल पठाउने तयारी भइरहेको परिवार स्रोतले जनाएको छ ।